ज्योतिषशास्त्र /Astrology

Subhash Sharma

ज्योतिषशास्त्र(Astrology) भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वी माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने विज्ञान हो। ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ । वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित रहेको कुरा कतिपय पश्चिमा विद्वानहरूले पनि स्वीकार गरेका छन् । त्यो ज्ञान र विज्ञानलाई अध्ययन गर्नको लागि ज्योतिषरूपी चक्षुको आवश्यकता छ । वैज्ञानिकहरूले आज कम्प्युटर दूर्बिन र अनेक विश्वविद्यालयको ल्याब वा प्रयोग शालामा वर्षौ बसेर पूरा ब्रह्माण्ड कै अध्ययन गर्दै आएका छन्।
image001
यस्तै, ज्योतिषी(Astrologist) भनेको सम्पूर्ण सौरमण्डललाई अध्ययन गरेको, तारा, नक्षत्र र ग्रहहरूको गणितीय पद्धतिबाट विश्लेषण गरि सत्य प्रभाव कुनै मनोविज्ञान र अड्कलन लगाइकन वैज्ञानिक विधि अनुसार सप्रमाण कथन गर्ने क्षमता भएको अभिव्यक्ति हो। ज्योतिषशास्त्र(Astrology) को प्रारम्भ मेसोपोटामियाको प्राचिन सभ्यतामा नै भएको थियो। ग्रिस हुँदै भारतमा पनि त्यही विद्या फैलिएको हो भन्ने विद्वानहरूको धारणा छ। भारतमा अहिले अभ्यास गरिँदै गरिएको ज्योतिषशास्त्रमा धेरै विविधता छ, र पश्चिमाको दाँजोमा धेरै कुरा थपिएको पनि छ। यहाँको सामाजिक परम्परा, दर्शन, स्थानीय विश्वास आदिको आधारमा यसको रूप नै अर्को जस्तो भैसक्यो। प्रत्येक ग्रहको आफ्नो प्रकृति हुन्छ र ब्रह्माण्डको आफू रहेको ठाउँअनुसार विभिन्न खालका प्रभाव पार्दछ भन्ने विश्वास यसको आधार हो। पृथ्वी र यहाँका घटनाक्रम वा मानिसहरूमाथि यी प्रभावले निम्त्याउने परिणामको भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको मुख्य उद्देश्य हो।
image002
पृथ्वीले सूर्यको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो (वृत्त ) ३६० डिग्रीको हुन्छ। यसलाई १२ भागमा विभाजन गरिएको छ, प्रत्येक ३०/३० डिग्रीको। यो ३० डिग्रीभित्र जुन नामको तारापुञ्ज पर्दछ, त्यसैलाई एउटा राशीको नाम प्रदान गरिएको हुन्छ। राशीहरू मूलतः काल्पनिक तारापुञ्जहरू हुन्। यी राशीका नाम हुन् – मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन। एकमा मेष र एवम् क्रमले बाह्रमा मीन। यिनीहरूले मोटामोटी रूपमा यिनै शब्दहरूले सङ्केत गरेका तारापुञ्जको आकारलाई निर्देशित गरेका हुन्छन् – मेषको मतलब भेडा, वृषको मतलब साँढे आदि, अनि त्यस्तै ग्रहहरू भए सूर्य, चन्द्र, बुध, शुक्र, मङ्गल, वृहस्पति र शनी – जम्मा सात। यी बाहेक पूर्वीय ज्योतिषमा दुईवटा काल्पनिक ग्रहहरू राहु र केतुलाई पनि गणना गरिन्छ । यिनीहरू वास्तवमा चन्द्र कक्ष र सूर्य कक्षद्वारा काटिएका विन्दुहरू हुन्, भौतिक ग्रहहरू होइनन् । त्यसैले जहिले पनि यिनीहरू परस्पर विपरित दिशामा रहेका हुन्छन्। ज्योतिषशास्त्रले राशी र ग्रहहरूको नैसर्गिक सम्बन्ध रहेको मान्दछ। राशीसँग नैसर्गिक सम्बन्ध रहेको ग्रहलाई त्यो राशीको स्वामी भन्ने गरिन्छ – जस्तै; मेष-मङ्गल वृष-शुक्र मिथुन-बुध कर्कट-चन्द्र सिंह-सूर्य कन्या-बुध तुला-शुक्र वृश्चिक-मङ्गल धनु-वृहस्पति मकर-शनी कुम्भ-शनी मीन-वृहस्पति ।
राशी स्थिर रहन्छ । ग्रहहरू गतिशील । कुनै खास समयमा ग्रहहरू आफ्नो भ्रमणको क्रममा कुन राशीमा पुगेका हुन्छन्, त्यही आधारमा कुण्डली निर्धारण हुन्छ। सम्बन्धित राशीहरु यी ग्रहका नैसर्गिक घर हुन्। आफ्नो स्वभावअनुसार ग्रहले सम्बन्धित घरको प्रवृतिलाई कमजोर पार्ने वा बल दिने गर्दछ। आफ्ना आफ्ना घरमा भएका बेला यिनीहरू बलवान हुन्छन्। ग्रहहरूबीच शत्रुभाव, मित्रभाव वा समभावको सम्बन्ध रहेको हुन्छ। शत्रुको घरमा पुगेको बेलामा ग्रह कमजोर हुन्छ। ज्योतिषशास्त्रको खास रमाइलो यी ग्रहहरूमा आरोपित विभिन्न अर्थहरू हुन्।
image003
मङ्गल ग्रहको रङ रातो हुन्छ, त्यसैले यसले रिस, युद्ध, लडाइ आदिको सङ्केत गर्दछ। त्यस्तै वृहस्पतिलाई देवगुरु मानिन्छ र वृहस्पतिले शिक्षा र विद्वताको सङ्केत गर्दछ। वृहस्पति प्रधान भएको व्यक्ति विद्वान हुन्छ भनेर ज्योतिषहरू भविष्यवाणी गर्दछन्। शुक्र दानवगुरु हुन्। त्यसैले वृहस्पति शुक्रको शत्रु भयो। शुक्रले यौनको पनि सङ्केत गर्दछ। शुक्र प्रधान हुने व्यक्ति कामी हुन्छ भन्ने गरिन्छ। शनी पाप ग्रह हो। यसको प्रभाव पाप कर्ममा हुन्छ। धन पनि पाप कर्म हो। शनीको प्रभाव भएको बेला धन आर्जन हुने वा खती हुने हुन्छ। चन्द्रमा सुन्दरता, कल्पनाको प्रतीक हो। यसको प्रभावले मान्छेमा सुन्दरता, कल्पनाशीलता आदिको विकास गर्छ। यस्तै यस्तै।
ज्योतिषविद्यामा अङ्कज्योतिष, प्रश्नज्योतिष आदि पनि प्रचलित छ। त्यस्तै तन्त्रमन्त्रसँग सम्बन्धित धेरै प्रकारका विद्याहरू समाजमा विद्यमान छन्। तन्त्रसँग सम्बन्धित प्रेतसाधना, मसानसाधनादेखि लिएर धामी, झाँक्री सबैमा आखत हेर्ने, भविष्यवाणी गर्ने विद्या पाइन्छ।
ज्योतिष विज्ञान आफूमा पूर्ण सत्य विज्ञान हो, यसमा कसैको शंका नरहोस् भन्ने भनाइ ज्योतिषीहरूको रही आएको छ। तर समयसंगै यसमा धेरै विकारहरू आएका छन्। यो विद्यालाई आज पैसा कमाउने भाडाको रूपमा प्रयोग गरिएको छ। आदि युगमा धेरै ऋषिहरूले धेरै विस्तृत विशाल विज्ञानको रूपमा विकास गरिसकेको ज्योतिष शास्त्र आज थोरै व्यक्तिहरूको गलत व्यवहारका कारण मृत तुल्य हुन पुगेको छ। नौ ग्रह र अठाईस नक्षत्रका नाम सम्म नजान्ने व्यक्तिहरू आफ्नो नामको अगाडि श्री ज्योतिषविज्ञ,ज्योतिष भास्कर, डक्टर सम्म लेख्न पछि पर्दैनन जसको फल स्वरूप आज यो दिव्य विज्ञान ओझेलमा परेको हो त्यसका केही दोषी हामीहरू पनि हौँ। किनकि यस विषयलाई कमाइ खाने भाडाको रूपमा प्रयोग गर्नु पूर्व हामी गहन अध्ययन गर्न चाहदैनौ। दुईचार वटा श्लोक रटेको भरमा मानव जीवन र सम्पूर्ण चराचरको मनगढन्त फलादेश गर्न थाल्दछौ संयोगबस कसैको मिल्छ, तर अधिकतर मिल्ने कुरामा तपाईं हामी आफै ग्यारेण्टी गर्न सक्दैनौ। यसको अपवादमा दुईचार जना विद्वानहरू हुनुहुन्छ जसलाई उपरोक्त श्रेणीमा राख्न मिल्दैन। आज जसरी विज्ञानका विद्यार्थीहरूले नयाँनयाँ खोज र सिर्जनाहरू गरिरहेका छन्, त्यस्तै यसमा पनि विद्यार्थीहरूको अथक मिहनेत र खोजको आवश्यकता छ। यदि सही ढंगले तपाईले यो शास्त्रको अध्ययन गनुभयो भने तपाईं एउटा विश्वासिलो वैज्ञानिक पनि हुनुहुनेछ।कुनै व्यक्तिविशेषको ग्रन्थ अध्ययन गरेर मानवजीवनको पूर्ण भविष्यफल कथन गर्ने ग्यारेण्टी गर्नु्, जुन अती गलत परम्परा हो, यसको न्यूनीकरण गर्नु अति आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ERROR: si-captcha.php plugin says captcha_library not found.